मगरका संघ संस्थाहरुका भाषिक उपाध्यक्षहरुले काम गरेनन् : उपाध्यक्ष थापामगर

kaike karyakram

श्याम राना
असार ०८,२०७२, काठमाडौ

नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समितिको भाषिक विभागको आयोजनामा तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल ललितपुरको प्रायोजनामा धोवीघाटको सिद्धार्थ कटेजमा “मगर काइके (भाषा)को अवस्था र चुनौती” नामक गोष्ठी सम्पन्न भएको छ । सो गोष्ठीमा श्याम प्रसाद घर्तीमगर ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्र माथी शोधार्थी विष्णुकुमार सिङ्जाली, मगर काईकेका लेखक तथा शब्दकोश तयारी गर्दै गरेका जग बहादुर बुढामगर र भाषा विज्ञानका विद्यार्थी युरीका सिङ्जाली ले टिप्पणी गरेका थिए । सो कार्यक्रमका अध्यक्षता नेपाल मगर विद्यार्थी संघका भाषिक उपाध्यक्ष गगन पुनमगर र सञ्चालन श्याम रानामगर तथा शुस्मा थापामगर ज्युले गर्नु भएको थियो र कार्यक्रमका प्रमुख अथीत्य आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष श्री झक बहादुर थापामगरले गर्नु भएको थियो ।
मगर काईके (भाषा) लोपोन्मुख अवस्थामा रहेको छ, वि.सं. २०५८ को जनगणनामा ७९४ जनाले मातृभाषाका रुपमा बोल्ने गरेको भाषा वि.सं. २०६८ को जनगणनामा जम्मा ५० जनाले बोल्ने गरेको बताइएको छ । सो गोष्ठीमा कार्यपत्र प्रस्तोता टिप्पणीकर्ता तथा सहभागीहरुले मगर काईके (भाषा)को संरक्षण र विकासमा सरकारको बेवास्ता र हेपाहा प्रवृत्ती, विश्वव्यापीकरण आदिको प्रभाव हुँदाहुँदै पनि मातृभाषीहरुले पनि लेखन, प्रकाशन र सञ्चार जोड दिन नसकेको, सदरमुकाम तथा शहर पसेका मातृभाषीहरुले मातृभाषा सन्ततीहरुलाई सिकाउन नसकेको, भाषा सिकाउने कक्षाहरु सञ्चालन गर्न नसकेको र त्यसलाई सच्च्याउनु पर्ने बताएका थिए भने मगर संघ लगायत, मगरका संघ संस्थाहरुले भाषा विकासको निम्ती आवाज उठाइदिनु पर्ने कुराहरुमा जोड दिएका थिए ।
सो गोष्ठीमा नेपाल मगर संघ, के.स. का पूर्व अध्यक्ष यामबहादुर बुढाथोकी, पूर्व सभासद राम बहादुर थापामगर, दिपा आले तथा आ.ज.उ.रा.प्र.का उपाध्यक्ष झकबहादुर थापामगरले मन्तब्य दिनु भएको थियो । आ.ज.उ.रा.प्र.का उपाध्यक्ष झकबहादुर थापामगरले विविध विषयको चर्चा गर्दै नेपाल मगर संघ, के.स. लगायतका भातृ संगठनका भाषिक उपाध्यक्षहरुले मगर मातृभाषाहरु संरक्षण, विकास र प्रचार प्रसारका कामहरु गर्न नसकेको, मगरका संघ संस्थाहरुले भाषा विकासको लागि भाषिक उपाध्यक्ष पद सृजना गरेको भए पनि सो पदहरु प्रतिष्ठा हासिल गर्न वा राजनैतिक छबी बनाउन मात्रै प्रयोग भएको उहाँले बताउनु भयो । मातृभाषारुको संरक्षण र विकास गर्नका लागि नै नेपाल मगर संघ लगायत अन्य भातृसंगठनहरुमा भाषिक उपाध्यक्षहरुको पद स्थापित गरिएको बताउँदै भाषिक उपाध्यक्षहरुले भाषा संरक्षण, विकास र प्रचार प्रसारका लागि विभिन्न निकायहरुमा प्रस्तावना पेश गर्न नसकेको, मातृभाषा विकासका लागि खाका तयार गर्न नसकेको, अधिकाँस भाषिक उपाध्यक्षहरुले सम्बन्धित मातृभाषामा लेख रचना तथा पुस्तकहरु प्रकाशन गर्न नसकेको, लेखकहरुलाई प्रोत्साहित गर्न नसकेको, मातृभाषा सिकाउन कक्षा सञ्चालन गर्न नसकेको, मातृ भाषा विकासको लागि आन्दोलन सृजना गर्न नसकेको आदि मगरका संघसंस्था भित्रका विकृतीहरु कोट्टयाउनु भएको थियो, जसले मगर भाषाहरु लोपोन्मुख दिशामा उन्मुख भएको छ ।