magar lekhak 01
Magar Lekhak 02
Magar Lekhak 03
Magar Lekhak 04
Magar Lekhak 05

विष्णुकुमार सिङ्जाली
काठमाडौ, २०७२ जेष्ठ ०२ गते ।

नेपाल मगर लेखक संघ, केन्द्रिय समिति काठमाडौको आयोजना तथा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेलको प्रायोजनमा “अक्खा लिपी सम्बन्धी अन्तरक्रिया” कार्यक्रम आज सम्पन्न भयो । नेपालमा आएको विनाशकारी भुकम्पको असर सामान्यीकरण हुँदै गएको भएता पनि लगातारका पराकम्पनहरु गएको कारण भुकम्पको जोखिमलाई ध्यानमा राखि कलंकी बल्खुको खुल्ला चौरमा टेन्ट टाँगेर सभाहल बनाईएको थियो ।

अक्खा लिपी सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई दुई शत्रमा बाँडिएको थियो । पहिलो शत्र उद्घाटन समारोह नेपाल मगर लेखक संघ, केन्द्रिय समितिका अध्यक्ष कर्णबहादुर बुढामगरको सभाध्यक्षतामा सम्पन्न भएको थियो । यस शत्रका प्रमुख अतिथी आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेलका उपाध्यक्ष झक बहादुर थापामगर हुनुहुन्थ्यो भने विशिष्ट अतिथीहरु नेपाल मगर संघका महासचिव नवीन रोकामगर र “प्राचिन मगर अक्खा लिपि” नामक पुस्तकका लेखक तथा पूर्व मन्त्री एम एस थापामगर हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन लेखक संघका महासचिव जिवनप्रवेश रोकामगर तथा स्वागत भाषण विष्णुकुमार सिङ्जालीमगरले गर्नुभएको थियो । कार्यक्रममा महाभुकम्पमा परी निधन भएकाहरुलाई मौन धारण गरि हार्दिक श्रद्धाञ्जली प्रदान गरिएको थियो ।
दोश्रो शत्रको अध्यक्षता मानवशास्त्री डा. श्यामु थापामगरले गर्नु भएको थियो । यस कार्यक्रममा भाषाविद अमृत योञ्जन तामाङ र प्रतिज्ञा रेग्मी, भाषाविद पूर्णबहादुर रानामगर, भाषविद छिमी पुनमगर, मगर भाषा पाठ्यपुस्तकका लेखक मन बहादुर थापा (गाहामगर) ले कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरु माथी टिप्पणी मगर भाषाका साहित्यकारहरु सञ्जोग लाफामगर तथा लोकबहादुर थापामगर, मगर सम्बन्धी शोधार्थी मीन श्रीसमगर, खड्कबहादुर सारुमगर, दुर्लभ पुनमगर लगायतले गर्नु भएको थियो । सो कार्यक्रममा नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष गंगा खासुमगर, लेखक नरु थापा, वरिष्ठ अधिवक्ता गौबहादुर आले, मगर अधिकारका अभियन्ता चन्द्र श्रीसमगर लगायत उपस्थीत अतिथीहरु तथा मगर अधिकारका अधियन्ता गरी असी जनाले छलफलमा सक्रिय भुमिका खेलेका थिए । कार्यक्रम विहान ११ बजे शुरु भएर बेलुका पाँच बजे समापन गरिएको थियो ।

सो कार्यक्रममा “प्राचीन मगर र अक्खा लिपि” पुस्तकका लेखक तथा पूर्व मन्त्री एम एस थापामगरले अक्खालिपी सम्बन्धीको ऐतिहासिकता र मगर जातिसंगको सम्बन्ध बारे चर्चा गर्दै, अक्खा लिपी लाई ऐतिहासिकता नमर्ने गरि समय सापेक्ष सुधार गरी मगर भाषाका ध्वनीहरु समेट्ने बनाउन मगर युवा तथा विद्धानहरुलाई आग्रह गर्नुभयो । मगर भाषाका साहित्यकार लोकबहादुर थापामगरले अक्खा लिपी सबै मगरहरुले चलाउनुपर्ने तथा समसामयिक सुधार गर्नुपर्ने कुरा बताउनु भएको थियो । नेपाल मगर संघका महासचिवले नेपाल मगर संघले अक्खा लिपी तथा मगर भाषा साहित्यको विकास र अध्ययन अनुसन्धान तथा प्रकाशनमा पहल गर्ने कुरा बताउनु भयो । प्रमुख अतिथी झकबहादुर थापामगरले पनि अक्खा लिपीको विकासका लागि अझ थुप्रै प्राज्ञिक बहस गराएर यसलाइै प्राज्ञिक तहमा स्थापीत गराई मगर पहिचान जोगाउनुपर्ने कुरमा जोड दिनु भएको थियो । दोश्रो शत्रका सभाध्यक्ष डा.श्यामु थापामगरले मगरका लिपी, भाषा तथा साहित्य, संस्कार संस्कृतीको अध्ययन, लेखक तथा प्रकाशनमा नेपाल मगर संघ लगायतका मगर सम्बन्धी संघसंस्थाले आह्वान गरेमा स्वयंसेवकको रुपमा मानवशास्त्रीय योगदान दिने प्रतिज्ञा गर्दै मगर पहिचान निर्माण तथा विकासको मानवशास्त्रीय दृष्टिकोणबाट चर्चा गर्नु भएको थियो ।