142खोमा तरामु मगर
बुटवल, २४ माघ ।
नेपाल मगर लेखक संघ जिल्ला समिति रुपन्देहीको आयोजनामा रुपन्देहीको बुटवलमा आदिबासी जनजातिहरुले उठाउदै आएको ‘पहिचान’ बिषयक खुल्ला कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । मगर जातिको इतिहास, भाषा, साहित्यलाई विकास एवं संरक्षण गर्दै नयाँ संविधानमा पहिचान सहितको संघीयता र संघीयता सहितको नयाँ संविधान निर्माण गर्न दबाव दिने उद्देश्यले संघको पाँचौं स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, प्यूठान, नवलपरासी, कपिलबस्तु जिल्लाका गरि २७ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा गुल्मीका स्रष्टा फटिक तरामु मगर प्रथम, देवदह रुपन्देहीका अंकित थापा मगर दोस्रो, प्यूठानका लजिना रेश्मी मगर तेस्रो र प्यूठानकै बालिका रोका मगर चौंथो स्थान प्राप्त गर्न सफल भएका छन् । बुटवल–१०, सुख्खानगर स्थित लखन स्मृति भवन (अमर भवन) मा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल मगर लेखक संघ केन्द्रिय उपाध्यक्ष कुलमान बुढा मगरले बिजेता प्रतियोगिहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ बुटवल उपमहानगरपालिकाका अध्यक्ष क्या. किसनबहादुर थापा मगर, मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य भुलबहादुर सुनारी मगर, संघीय एक्सप्रेसका अध्यक्ष ज्ञानबहादुर थापा मगर, फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहा मगर, आदिबासी जनजाति यूवा महासंघका जिल्ला उपाध्यक्ष सञ्जीव थापा मगर, मगरात राष्ट्रिय मासिकका सम्पादक खोमा तरामु मगर, अञ्चल उपाध्यक्ष सोनु थापा मगर, फोटो पत्रकार केवि पुन मगर, नगर समितिका सल्लाहकार भोजबहादुर बुढाथोकी मगर लगायत अतिथिहरुले समसामयिक बिषयका बारेमा बोल्नु भएको थियो । जिल्ला अध्यक्ष भिममाया राना मगरको अध्यक्षता, सचिब लिला राना मगरको सञ्चालन र उपाध्यक्ष तीर्थकुमारी राना मगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।